आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा डा. सुन्दरसिंह बोहराको दावी

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार ०८:०८ मा प्रकाशित (२ साल अघि) २९४ पाठक संख्या

१ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा डा. सुन्दरसिंह बोहराले दावी गरेका छन् । उनले काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत काठमाडौं वडा नं. ६, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ र ९ का नेतृत्व, अग्रज, क्रियाशिल र पार्टीका शुभचिन्तकहरुसँग प्रतक्ष्य भेटेर सल्लाह, सुझाव र सुभेच्छा लिएर प्रदेश सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको बताए ।

डा.बोहराले २०४८ सालको आम निर्वाचनमा श्रद्धेय सन्त नेता कृष्ण प्रसाद भट्टराईको पक्षमा वडास्तरीय प्रचारप्रसार उपसमितिमा रहेर कार्य गरेको स्मरण गर्दै नेपाली कांग्रेसको १२ औं वडास्तरीय अधिवेशनलाई निर्वाचन अधिकृतको हैसियतमा सफलतापूर्वक सम्पन्न गरेको बताए ।

सिंघानीया युनिभर्सिटि र त्रिभूवन विश्वविद्यालयको सम्वन्धन प्राप्त नेतृत्व विकासमा विद्यावारिधी गरेका बोहराले स्थानीय स्तरको चुनाव सफल बनाउन हरेक पटक अग्रणी भूमिका खेलेको बताए । उनले आजको विद्यमान राजनीतिक परिवेशमा सफल र सबल नेतृत्व प्रदान गर्ने राजनीतिज्ञ कमै देखिएको, बौद्धिक वर्गले राजनीतिमा जान नचाहेको परिस्थितीमा जनताको सेवा गर्ने उदेश्य बोकेर, प्रदेश समितिलाई चलायमान, सुदृढ र सक्षम नेतृत्व दिन आफूले आत्म विश्वासका साथ चुनावी मैदानमा अगाडी बढेको बताए ।

उनले प्रदेश सभा (क) को सभापतिका रुपमा आफूले कमिटिलाई सबल र सक्षम नेतृत्व गर्ने दावि गर्दै बौद्ध वडा नं. ६ मा प्रदेश कमिटिको कार्यालय आफ्नै पहलमा र आर्थिक व्यवस्थापनमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

डा. बोहराले पार्टी संगठनलाई विधि पद्धती अनुसार सञ्चालन गर्दै अग्रजलाई सम्मान र युवाहरुलाई प्रशिक्षण, अवसर र सहकार्यको बतावरण बनाउने बताए । उनले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आफूले सँधैं शिरोपर गर्ने बताउँदै आफू प्रदेश (क) सभापति भएमा विचार, संस्कार, अनुशासन, सम्मान र निष्ठाको राजनीति गर्दै यही सिद्धान्तलाई व्यवहारिक अभ्यास गर्नका लागि आउने पुस्तालाई स्कुलिङ गर्ने बताए ।

उनले भने ‘म आफ्नो लगनशीलता, अनुशासन, दक्षता र समपर्णबाट पार्टीलाई बलियो बनाउनेछु । अग्रज नेता, क्रियाशिल साथीहरु, पार्टीका शुभचिन्तकहरुसँगको भेटघाट, छलफलका क्रममा उहाँहरुले देखाएको सद्भावले विश्वस्त छु कि मैले सबैको सहयोग र सहकार्यबाट प्रदेश सभापतिको जिम्वेवारी लिने मौका पाउने छु ।’

उनले प्रदेश सभापति भएमा आफूले प्रदेश अन्र्तगतको ३ वटैवडामा नगरस्तरीय निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरी कटिबद्ध भएर चार तारे झण्डा फरफराउने बातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैको भावना बुझेर अगाडी बढेकोले सबैको होसला र मतले विजयी हुने समेत बताए ।