आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

डोटी पुगेर भीम रावलले भने- ‘मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो’

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार ११:३२ मा प्रकाशित (२ साल अघि) १०७ पाठक संख्या

डोटी । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले फुट्नुमा आफ्नो कुनै हात नरहेको दाबी गरेका छन्। बिहीबार बिहान गृह जिल्ला अछाम जाने क्रममा डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता रावलले यस्तो प्रष्टिकरण दिएका हुन्।

‘मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो,’ रावलले भने, ‘म पार्टी फुटाउन नभई पार्टी एकतालाई जोड दिन अग्रसर भएको मान्छे हुँ।’ उनले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा भीम रावलले तयार गरेको भनेर आएका समाचारको पनि खण्डन गरे। ‘यो हल्लामा कुनै सत्यता छैन। मैले एकीकृत समाजवादीको विधानको मस्यौदा बनाएका होइन्,’ उनले भने।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकलाई पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिए।

उनले देउवा सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि बेला जुनसुकै दल फुटाउन सक्ने बताए। ‘यो अध्यादेशले दल विभाजनलाई सहज बनाएको छ, दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुनु हो,’ उनले भने।

रावलले आफूले देश र जनताको सेवाका लागि राजनीति गरेको बताए। ‘म व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति गर्ने मान्छे होइन,’ रावलले भने, ‘स्वार्थका लागि राजनीति गर्ने व्यक्ति म होइन, पार्टी फुट्नु आफैमा दुःखद् पक्ष हो। तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन र दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु।’

राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले काम गरिरहेको उनको दाबी थियो। रासस