आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रमुख प्रतिपक्षीलाई पेलेरै जाने सत्तापक्षको रणनिति,प्रधानमन्त्रीले भने-‘एमाले सहमतिमा नआए पनि बजेट पारित हुन्छ’

गोकर्णेश्वर खबर२८ भाद्र २०७८, सोमबार २२:२६ मा प्रकाशित (२ साल अघि) ११६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताएका छन् ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन सक्ने बताए ।
‘सहमतिमा नआएको अवस्थामा बजेट पास गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ । त्यसकारण वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार छ । उहाँहरु (एमाले) सहमति र सम्वादमा आउन जरुरी छ’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले अहिले सरकारलाई परेको समस्या प्रमुख प्रतिपक्षीलाई पनि भविष्यमा आउन सक्ने उल्लेख गर्दै एमालेले सोच्नुपर्ने बताए । सरकारलाई भदौ ३० गतेभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने बाध्यता छ ।

बैठकमा कांग्रेस नेता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको बताए ।

कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारिक पहल गरेको उल्लेख गरे ।

आफूले संसदको गतिरोध अन्त्य उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग उनकै निवासमा पुगेर छलफल गरेको पनि मन्त्री कार्कीले बताए ।

एमालेले लगातार संसदमा नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उक्त बैठकमा गएनन् ।