आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कांग्रेस महाधिवेशन कार्यतालिका फेरि फेरिने सम्भावना

गोकर्णेश्वर खबर२८ भाद्र २०७८, सोमबार ०९:५५ मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत अहिले वडा अधिवेशन गरिरहेको छ। असोज ५ गतेसम्म ७७ वटै जिल्लामा वडा अधिवेशन गरिसक्ने कार्यतालिका उसले बनाएको छ।

भदौ २५ गते सातौंपटक परिमार्जन गरिएको कार्यतालिकाअनुसार कांग्रेसले असोज ९ गते गाउँ,नगरपालिका र असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिरहेको छ।

असोज १५ गते कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ।

सोही दिन कांग्रेसले महाधिवेशन प्रतिनिधि पनि चयन गर्नेछ। विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा अधिवेशनका प्रतिनिधि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन्।

यस्तै उक्त निर्वाचन क्षेत्रभित्र रहेका केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्वपदाधिकारी तथा सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार पनि प्रतिनिधि मानिन्छन्।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले प्रतिनिधिमध्येबाट कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी–जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ।

कांग्रेसको विधानमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पार्टीको क्रियाशील सदस्यता लिएको ४ वर्ष पूरा भएको हुनुपर्ने प्रवाधान छ। विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिमा निर्वाचित हुने व्यक्ति पदेन महाधिवेशन प्रतिनिधि हुन्छ।

यसरी कांग्रेसको असोज १५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले हरेक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। जसअनुसार देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

जसमध्ये प्रत्यक्षतर्फ २ हजार ४ सय ७५ (६० प्रतिशत) र १ हजार ६ सय ५० (४० प्रतिशत) समानुपातिकतर्फबाट चयन हुने केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए।

उनका अनुसार कूल महाधिवेशन प्रतिनिधिमध्ये १ हजार ३ सय ४ जना महिला हुनेछन्। जसमध्ये ६ सय ६० महिला प्रत्यक्षतर्फ र ६ सय ४४ महिला समानुपातिकतर्फ चयन गरिने डा. रिजालले बताए।

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट आदिवासी–जनजातितर्फ ४ सय ९८ (३०.२ प्रतिशत), मधेसीतर्फ २ सय २७ (१३.८ प्रतिशित), दलिततर्फ २ सय ३२ (१४.१ प्रतिशत, थारूतर्फ ९४ (५.७ प्रतिशत), मुस्लिमतर्फ ७२ (४.४ प्रतिशत) र खस–आर्यतर्फ ५ सय २७ (३९.९ प्रतिशत) महाधिवेशन प्रतिनिधि समानुपातिक प्रणालीबाट चयन गरिने रिजालले बताए।

विदेशस्थित जनसम्पर्क समितिले (५ सय वा यसभन्दा बढी क्रियाशील सदस्य भएका) ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेर महाधिवेशनमा पठाउने प्रावधान विधानले गरेको पनि उनले जानकारी दिए।

उनका अनुसार एक देशबाट बढीमा १४ जना मात्रै महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउने प्रावधान छ। आसन्न महाधिवेशनमा कम्तीमा ४ हजार ५ सय र बढीमा ५ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने उनको अनुमान छ।

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनका लागि पनि प्रतिनिधि मानिन्छन्। कांग्रेसले आगामी कात्तिक १०–१२ मा प्रदेश अधिवेशन गर्ने भएको छ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि परिर्वतन हुने देखिएको छ। कांग्रेस पदाधिकारी बैठकले गाउँ,नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मका लागि नयाँ मिति प्रस्ताव गरेको छ।

शुक्रबार बसेको पदाधिकारी बैठकले गाउँ,नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गरेको हो।

कांग्रेस स्रोतले भदौ २७ गतेका लागि निर्धारित गाउँ,नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएको जनाएको छ। यस्तै असोज १ गतेका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते, असोज ५ गतेका लागि तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाका जिल्ला अधिवेशन असोज १३ गते प्रस्ताव गरिएको स्रोतले जनाएको छ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १६ मा गर्ने प्रस्ताव गरिएको छ। यसअघि उक्त अधिवेशन असोज १० गते गर्ने निर्णय गरिएको थियो।

कांग्रेस स्रोतले क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका सवै जिल्लामा भदौ ५ गते वडा

अधिवेशन गरिने जनाएको छ। तर उसले २० जिल्लाको नामावली सार्वजनिक गरेको छैन।

स्रोतका अनुसार आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिएको छ।