आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

संसदको अवरोध हटाउन सभामुखसहित सत्तापक्षले थाल्यो एमालेसँग वार्ता

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १५:०६ मा प्रकाशित (२ साल अघि) ८० पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षीको अवरोध हटाउनका लागि वार्ता सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा वार्ता भइरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

वार्तामा सभामुख सापकोटा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगजराज अधिकारी सहभागी छन् ।

सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै एमालेले तेस्रो दिन पनि बैठकमा अवरोध गरेको छ । सरकारले प्रतिपक्षलाई पेलेरै बजेटसम्बन्धी अध्यादेश पारितका साथै प्रतिस्थापन विधेयक पेस गरेपछि एमाले रुष्ट छ ।

आफ्नो दल विभाजनमा सभामुखले समेत षडयन्त्र गरेको भन्दै एमालेले सभामुखविरुद्ध समेत नाराबाजी गरेको थियो । प्रतिनिधिसभा नियमावलीका नियम उल्लंघन गर्दै सभामुख सापकोटाले सदन सञ्चालन गरेको भन्दै एमाले झन् चिढिएको छ ।

आइतबारको पहिलो बैठकमा एमालेले नाराबाजी जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । सत्ता पक्षले सदन सञ्चालनका लागि वार्ताको थालनी गरेपछि बैठक बस्न समय लागेको छ ।