आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्याका अभियुक्त सार्वजनिक

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १२:०४ मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

संखुवासभा । संखुवासभाको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

शुक्रबार पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो । आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उनले दिएका प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि प्रहरी नियन्त्रणमा रहेका उनले शनिबार बिहान घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । आफूले तेजबहादुरलाई मात्रै हत्या गर्ने योजना बनाएको भए पनि अरुले देखेपछि घटना लुकाउन थप हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा परिवारका ७ जनामध्ये आँखा कम देख्ने र कम सुन्ने बोद्धमान मात्र जिवित छन् ।

हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

प्रहरीका अनुसार अभियुक्त लोकबहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयबाट देखेपछि आक्रमण गर्ने सोच बनाएका थिए । उनले घरनजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकालेर खोल्सीमा पुगेपछि तेजबहादुरमाथि आक्रमण गरेका थिए ।

तेजबहादुरले ‘लोकेले मार्‍यो गुहार‘ भन्दै चिच्याएपछि श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएका थिए । लोकबहादुरले कमला र रञ्जनालाई देखेपछि घटनाको पोल खुल्ने डरले पहिले कमलामाथि चिर्पट प्रहार गरेका थिए । कमला ढलेको देखेर बेहोस भएकी बुहारी रञ्जनामाथि उनले बेहोसी अवस्थामै प्रहार गरेको प्रहरीले जनाएको छ ।

तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखेपछि उनीहरूलाई लखेट्दै टाउकोमै लोकबहादुरले चिर्पट हानेका थिए । गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डरले लोकबहादुरले त्यसपछि घरमा पुगेर गाईवस्तुलाई दिन कुँडो पकाइरहेकी पार्वतीमाथि पनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।