आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पेरु कम्युनिष्ट क्रान्ति साइनिङ पाथका नेता गोन्जालोको निधन

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार ०९:४४ मा प्रकाशित (२ साल अघि) १७२ पाठक संख्या

काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।

दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।

गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । उनको जन्म सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो ।

सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो । साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो ।

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परे । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो । दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परे ।

सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो । सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । तर पनि पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारको ज्यान गएको थियो ।