आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

राजेश हमालले भने- ‘एमसीसीलाई जनताले स्विकार् गरेका छैनन्’

गोकर्णेश्वर खबर२६ भाद्र २०७८, शनिबार १४:४६ मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

काठमाडौं । अभिनेता राजेश हमाल अमेरिकी परियोजना एमसीसी कम्प्याक्टको विपक्षमा उभिएका छन् । नेपाली जनताको विरोधका बीच एमसीसी नेपाल कम्प्याक्टलाई अघि नबढाउन उनले सम्बन्धित पक्षलाई आग्रह पनि गरेका छन् ।

शुक्रबार मध्यराति फेसबुक लाइभमार्फत उनले धेरै देशमा अमेरिकाको राम्रो छवि नभएकाले उसलाई झट्टै विश्वास गर्न नहुने युवा जमातको धारणा स्वाभाविक भएको बताए । ‘एमसीसीअन्तर्गत जुन सहयोग आउँदैछ, त्यसप्रति नेपाली जनसमुदायको असन्तुष्टि छ । बहुसंख्यक नेपालीले आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको महसुस गर्नुभएको छ । यो स्वाभाविक पनि हो’, उनले भने ।

पछिल्लो २०–३० वर्षमा अमेरिकाले गरेका गतिविधिप्रति सबै देशमा मानिस जानकार रहेको उनको भनाइ छ । चाहे त्यो अफानिस्तानमा अमेरिकाको भूमिका होस् वा अन्य राष्ट्रमा भएको क्रियाकलाप, सबै युवालाई थाहा छ’, हमालले भने ।

उनले अमेरिकालाई आफ्नो छवि सुधार्न सुझाव पनि दिएका छन् ।

एमसीसीबारे मुलुकमा बहस तातेका बेला चुप लागेर बसेको भन्दै फेसबुकमा टिप्पणी हुन थालेपछि हमालले एमसीसी स्वीकार्न नहुने बताएका हुन् ।