आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पीएनजीमाथि नेपालको कीर्तिमानी जित,सन्दीपले लिए ६ विकेट

गोकर्णेश्वर खबर२५ भाद्र २०७८, शुक्रबार २३:५१ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

काठमाडौं । ब्याटिङमा रोहित पौडेल र बलिङमा सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा १५१ रनको कीर्तिमानी जित हात पारेको छ।

योसँगै पीएनजीसँगको दुई खेलको ओडीआई सिरिज पनि नेपालले २-० ले आफ्नो पक्षमा परेको छ। यसअघि भएको खेल नेपालले २ विकेटले जितेको थियो।

ओडिआईमा नेपालले हालसम्म जितेकोमध्ये १५१ रनको जित सबैभन्दा ठूलो जित समेत हो। यसअघि नेपालले यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको जित हात पारेको थियो।

शुक्रबार भएको दोस्रो ओडिआईमा नेपालमा दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा समेटियो।

नेपालका सन्दीप लामिछानेले ६ विकेट लिएपछि पीएनजीको पारी ध्वस्त भएको थियो।

पीएनजीका ओपनर टोनी उराउले सर्वाधिक १९ रन जोडे। त्यसबाहेक चार्ल्स अमिनीले १६, नोर्मन भानुले १२ बाहेक अन्यले सम्झन लायक प्रदर्शन गरेनन।

सन्दीपले ५.१ ओभरमा ११ रनमात्रै खर्चेर ६ विकेट लिए। जुन उनको करिअरको सबैभन्दा उत्कृष्ट प्रदर्शन समेत हो। यस्तै सुसन भारी, सोमपाल कामी र विक्रम सोबले १(१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सवै विकेट गुमाएर २३३ रन बनाएको थियो।

नेपालका लागि रोहित पौडेले सर्वाधिक ८६ रन बनाए। उनले १२३ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे। रोहितको यो ओडिआई करिअरको दोस्रो अर्धशतक समेत हो।

यस्तै करण केसीले बिस्फोटक ब्याटिङ गर्दै २६ बलको सामना गर्दै ४२ रन जोडे। ​सोक्रममा उनले ४ छक्का र २ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ४५ रन जोडेका थिए।

त्यसबाहेक विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल ३, आफिस सेख ३, कुशल मल्ल १ र विक्रम सोब १ रन बनाए।

अर्को साता सोमबारदेखि ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्दैछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।