आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पपुवा न्युगिनीविरुद्ध नेपालको रोमाञ्चक जित,सन्दीपले लिए ४ विकेट

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार २०:२२ मा प्रकाशित (२ साल अघि) २६८ पाठक संख्या

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय खेल नेपालले जितेको छ । ओमानको अल अमेरत मैदानमा भएको खेलमा मंगलबार नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको हो ।

आठौं विकेटको लागि सोमपाल कामी र रोहित पौडेलले ४६ रनको साझेदारी गरेपछि रोमाञ्चक खेलमा नेपालले जित हात पारेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रन बनायो ।उसका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन गुमाएर चार विकेट लिए । यस्तै कुशल मल्ल, बिक्रम सोबले समान दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको नेपालले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरेको थियो । राम्रो सुरुआत गरेपनि सम्हालेर खेल्न नसक्दा खेलमा दबाब व्योहोर्नु पर्‍यो ।

८२ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको लागि रोहित पौडेल र सोमपाल कामीले धैर्यपूर्वक ब्याटिङ गर्दै खेल जिताए । नेपालले ३९.३ ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

नेपालको लागि रोहितले ६५ बलमा दुई चौकासहित ४१ रन बनाए । यस्तै आसिफ शेखले ४६ बलमा चार चौकासहित ३० रन बनाए । सोमपाल कामीले नटआउट २२ रन बनाए भने ओपनर कुशल भुर्तेलले १५ रन बनाए ।

पपुवा न्युगिनीको लागि गौडी टोकाले तीन विकेट लिए भने डेमियन राभु र चाड सोपरले दुई/दुई विकेट लिए ।