आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सत्ता गठबन्धनका ३ विद्यार्थी संगठनद्धारा एमसीसी अघि नबढाउन खबरदारी

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार १०:५४ मा प्रकाशित (२ साल अघि) १११ पाठक संख्या

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका तीन दलका विद्यार्थी संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन सरकारलाई खबरदारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले एमसीसी परियोजना संसदबाट पारित नगर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ ।’

अमेरिकाले साम्राज्यवादी उद्देश्य पूरा गर्ने गरी एमसीसी परियोजना ल्याएको भन्दै तीन विद्यार्थी संगठनले एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्ने र असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्ने जिकिर गरेका छन् ।

‘जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

एमसीसी पारित गर्न नेपालको राजनीतिक शक्तिमाथि दबाब दिने र एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भइरहेको पनि विद्यार्थी संगठनहरुले बताएका छन् ।

हेर्नुहोस् तीन विद्यार्थी संगठनको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी सम्झौतामा राष्ट्रहित विपरीत, देशको सार्वभौमसत्तामाथि प्रश्न उठाउने कैयौं प्रावधानहरु रहेका छन् । अमेरिकी सरकारी अधिकारीहरुले एमसीसी परियोजना इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भनेर बारम्बार अभिव्यक्तिहरु दिएका छन् । एमसीसीका पारित गर्न दबाब दिनको लागि एमसीसीका उच्च पदाधिकारीहरु नेपालमा आउने समाचार प्रकाशित भएका छन् । नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ । कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ ।

एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ । नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ । अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ । जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं ।
२०७८ भदौ २१ गते

रञ्जित तामाङ, अखिल (क्रान्तिकारी)
सुदेश पराजुली, अनेरास्ववियु
विमल पोखरेल, अखिल (छैठौं)