आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

विपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तोडफोड

गोकर्णेश्वर खबर२१ भाद्र २०७८, सोमबार १६:१० मा प्रकाशित (२ साल अघि) १९६ पाठक संख्या

विराटनगर । काम छाडेर आन्दोलनमा उत्रने विपी प्रतिष्ठानका चिकित्सकहरुको निर्णयको विरोधमा राजनीतिक दलका कार्यकर्ताहरु भौतिक हस्तक्षेपमा उत्रिएका छन्।

संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ। उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाउँदै उनीहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्न माग गरेका छन्।

आइतबार मात्रै एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले विज्ञप्ति जारी गरेर उपचार सेवा बहिष्कार गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।

अघिल्लो दिन यस्तो आग्रह गरेका दलहरुमध्ये लिम्बुवानका कार्यकर्ताहरु हुल बाँधेर झण्डासहित प्रतिष्ठान प्रवेश गरेका थिए। उनीहरुले पदाधिकारीहरुको कार्यकक्षमा लगाइएको ताला फुटाएका थिए।

आन्दोलनकारीले भने यस्तो कदमले झनै द्वन्द्व बढाउने भन्दै आपत्ति प्रकट गरेका छन् । ‘यहाँका पदाधिकारीहरुकै मिलेमतोमा यस्तो घटना भएको छ ’, आन्दोलनकारी विद्यार्थी नेता डा. अमृत जैसीले भने ‘यसरी भौतिक आक्रमणमा उत्रने कार्यले राम्रो परिणाम दिँदैन।’

सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी काम छाडेर आइतबारदेखि आन्दोलनमा छन्। उनीहरुको आन्दोलनले दैनिक उपचार सेवा पाउँदै आएका हजारौं विरामी उपचारबाट वञ्चित भएका छन्।

चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछि दुईदिनदेखि बिपीको ओपिडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प छ।

धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपिडी सेवा लिन्छन् भने २० वटा शल्यक्रिया दैनिकजसो हुने गरेको छ।