आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाउनेलाई कारबाही गर्ने सरकारको चेतावनी

गोकर्णेश्वर खबर२० भाद्र २०७८, आईतवार १६:३२ मा प्रकाशित (२ साल अघि) १२९ पाठक संख्या

काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने सत्ता साझेदार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्तामाथि कारबाही चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतवार एक विज्ञप्ति निकालेर छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही चेतावनी दिएका हुन्।

विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।

सरकारले सबै मित्र राष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको पनि गृहले जनाएको छ। नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ। नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ, गृहले भनेको छ, मित्र राष्ट्रहरुको स्वाभिमान र सम्मान आँच आउने कुनै क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ।

सरकारले मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको पनि जिकिर गरेको छ। भविष्यमा पनि उत्पन्न हुने समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने गृहले जनाएको छ।

गृहले मित्र राष्ट्रहरूसँग लक्षित हुने गतिविधि नियन्त्रण गर्ने पनि जनाएको छ। मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई सरकारले नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ, गृह प्रवक्ताले निकालेको विज्ञप्तिमा भनिएको छ।

यसअघि गत शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतको विरोधमा प्रदर्शन गरेको थियो। नेपाली नागरिक जयसिंह धामी प्रकरणमा भारतको रवैयालाई लिएर सत्तारुढ दलकै कार्यकर्ता सडकमा निस्किएका थिए।

नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै नेपाल नेतृत्वको समाजवादीका विद्यार्थीहरु सडकमा उत्रिएका थिए। समाजवादी पार्टीनिकट अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा विरोध प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाएका थिए।

त्यसक्रममा उनीहरुले नेपाली सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देऊ, भारतीय हस्तक्षेप मुर्दावादसहितका चर्का नाराबाजी गरेका थिए।

त्यही दिन माओवादीनिकट अखिल क्रान्तिकारी केन्द्रीय सदस्यसमेत रहेका निर्ग जैसी नवीनको नेतृत्वमा अमेरिकी परियोजना एमसीसीविरुद्ध प्रदर्शन भएको थियो।

त्यही बेलुका गृहमन्त्रालयले विज्ञप्ति निकालेर विदेशी सहयोगका परियोजना र छिमेकीविरुद्ध प्रदर्शन गर्नेमाथि निगरानी भइरहेको जनाउँदै कारबाही चेतावनीसहितको विज्ञप्ति निकालेको थियो।