आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

१४ औं महाधिवेशनलाई ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ : शेखर कोइराला

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार ११:११ मा प्रकाशित (२ साल अघि) २९५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताए ।

शुक्रबार महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी गर्दै नेता कोइरालाले महाधिवशेनले गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्ने उल्लेख गरे ।

‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ,’ नेता कोइरालाले भने, ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको १४ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।’

उनले महाधिवेशन ‘उत्सव’ का रुपमा आएको उल्लेख गर्दै कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताएका छन् । ‘महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ,’ नेता कोइरालाले अपीलमा भनेका छन्, ‘महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।’

महाधिवेशनलाई पार्टीमा जित र हार भन्दा माथि राख्न उनले सुझाव दिएका छन् । कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको उल्लेख गर्दै नेता कोइारालाले पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने नरहेको बताए ।

कांग्रेसको महाधिवेश कार्यतालिका अनुसार शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । कांग्रेसको वडाअधिवेशन करिव नौ लाख क्रियाशील सदस्य मतदाता रहेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।