आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कांग्रेस वडा अधिवेशनको सन्दर्भमा प्रकाशमान शिंहको सन्देश- लोकतान्त्रिक विधिबाट सक्षम नेतृत्व चयन गरौं

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार ०९:४१ मा प्रकाशित (२ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक विधि, प्रक्रिया र स्वच्छ प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ। यही सन्दर्भ पारेर नेता सिंहले एक सन्देशमार्फत् लोकतान्त्रिक विधि र प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्न देशैभरीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

‘वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ,’ नेता सिंहले सन्देशमा भनेका छन्, ‘लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

उनले संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने, देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व चयन गर्न पनि आगैह गरेका छन्।

हेर्नुस् नेता सिंहको सन्देशको पूर्ण पाठ

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन शुरू भएको छ । संगठनको मेरूदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता हो । राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो । काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ । काँग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपिल गर्दछु।

वडा अधिवेशन विधिसम्मत क्षमतावान नेतृत्व चयन गर्न सफल होस्, हार्दिक शुभकामना व्यक्त गर्दछु । स्वास्थ्य मापदण्ड पालना गरौं बाचौं र बचाऔं। जय नेपाल।
प्रकाश मान सिंह
नेपाली कांग्रेस