आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कामनपा-१९ का वडाध्यक्ष श्रेष्ठको निधनमा आज शोक बिदा

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार ०९:२१ मा प्रकाशित (२ साल अघि) २०८ पाठक संख्या

काठमाडौँ । काठमाडौँ महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज (शुक्रबार) महानगरपालिकाले शोक बिदा दिएको छ। पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको थियो।

वडाध्यक्ष श्रेष्ठको निधन अकल्पनीय भएको भन्दै मेयर विद्यासुन्दर शाक्यले दुःख व्यक्त गरेका छन्। उनले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यसैगरी उपमेयर हरिप्रभा खड्गीले श्रेष्ठको निधनबाट महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरेकी छन्। श्रेष्ठको शव बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिँदै छ। बिहान ९ देखि अपराह्न ३ बजेसम्म शव वडा कार्यालयमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए।

वि.सं. २०१३ पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो । उपचारकै क्रममा उनलाई मस्तिष्कघात भएपछि मृत्यु भएको हो।

पञ्चायतकालमै वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनका श्रीमती, तीन छोरी र एक छोरा छन्।