आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली सन्तानलाई तुइन चुँडाएर मारिएको छ,तर राज्य संयन्त्र वाणीशून्य भएको छ: कांग्रेस नेता भण्डारी

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार ११:५७ मा प्रकाशित (२ साल अघि) १०१ पाठक संख्या

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले तुइन चुँडाएर नागरिक मारिदा पनि राज्य संयन्त्र वाणीशून्य भएको भन्दै आपत्ति जनाएका छन्।

दार्चुलाका जयसिंह धामी वेपत्ता प्रकरणको छानबिनका लागि गठित समितिले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको भोलिपल्ट आपत्ति जनाएका हुन्।

‘नेपाली सन्तानलाई तुइन चुँडाएर मारिएको छ, तर राज्य संयन्त्र वाणीशून्य भएको छ, अरु नेता त बोल्न नै हुँदैन किनकी राजनीति बिग्रिन्छ,’ नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गजव छ भारतीय मानवता र न्याय साथै नेपाली राजनीति। अद्भुत छ मेरो देश।’ उनले जयसिंह धामीले न्याय पाउने सम्भावना नरहेको पनि उल्लेख गरेका छन्।

‘जयसिंह धामी तिमीले न्याय पाउने दिन गए मानवतावादी कृतघ्न र मृतहरूको मुखमा मानवतावाद। द्रौपदीको वस्त्रहरण भएको सभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र नीति–निपूण विदुरको जस्तो मौनता भयो हाम्रो,’ भण्डारीले लेखेका छन्।

उनले सरकारलाई जयसिंहको न्यायका लागि कुटनीतिक पहल गर्न र आवाज उठाउन पनि आग्रह गरेका छन्। ‘सरकारलाई कुटनीति पहल र बोल्नको लागि आग्रह। धन्य छ विश्व मानवतावादको मौंनता,’ भण्डारीले भनेका छन्।

दार्चुलाको ब्याँस गाउँपालिका–२ खाङदाङ मालका जयसिंह धामी मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए। भारतीय सुरक्षाकर्मीले तुइनको तार काटेपछि महाकाली नदीमा बेपत्ता भएका उनी अझै फेला परेका छैनन्।

साउन १५ गते भएको घटना छानबिनका लागि गृह मन्त्रालयले १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ।