आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वरमा मानसिक स्वास्थ्य जोखिम न्युनिकरणमा सक्रिय मानसिक स्वास्थ्य इकाई

गोकर्णेश्वर खबर१५ भाद्र २०७८, मंगलवार २०:३१ मा प्रकाशित (२ साल अघि) ३५८ पाठक संख्या

१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मानसिक स्वास्थ्य इकाईले गत भदौ देखि हालसम्म धेरै किसिमका मानसिक स्वास्थ्य सम्वन्धि सेवा दिंदै आएको छ ।

इकाईका प्रमुख मनोपरामर्शकर्ता सुस्मिता कुईकेलका अनुसार इकाईले मनोविमर्श सेवा, मानसिक स्वास्थ्य सम्वन्धि तालिम, रेफरल सर्भिस, आपतकालीन मनोविमर्श, शैक्षिक मनोपरामर्श जस्ता सेवाका साथै व्यक्तिगत, सामुहिक र पारिवारिक मनोपरामर्श दिने गरेको छ ।

अहिलेसम्म इकाइले १ वर्षमा १६ विद्यालयमा मानसिक स्वास्थ्य तथा मनोपरामर्श विषयमा तालिम दिएको मनोपरामर्शकर्ता सुस्मिता कुईकेलले बताईन् । यस्तैगरी, गोकर्णेश्वर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई मनोपरामर्श तालिम दिईएको छ भनें नगरपालिका भित्र १२ सय भन्दा धेरै व्यक्तिलाई नगरपालिकाको विभिन्न स्थानमा स्वास्थ्य परिक्षण सेवा दिएको कुईकेलले गोकर्णेश्वर खबरलाई बताईन् ।

यसैगरी १ वर्ष भित्रमा इकाईबाट फोन मार्फत ६ सय जनाले मनोविमर्श सेवा लिईसकेका छन् । गोकर्ण जगडोलमा रहेको कोभिड आईसोलेसन सेन्टरमा संक्रमितहरुलाई ३ पटक मनोपरामर्श दिईएको कुइकेलले बताईन् । उनले आफ्नै पहलमा १२ वर्षकी अनाथ बालिकालाई साथी संस्थामा संरक्षणको लागि रेफर गरेको बताईन् । कुईकेलका अनुसार बालिकाले चाहेमा डाक्टर, नर्स सम्मको उच्च शिक्षा संस्थामा बसेर हासिल गर्न सक्ने छिन् ।

उनले मानसिक स्वास्थ्यसँग पोषण र जोखिम न्युनिकरण समेत जोडिने हुनाले कोभिडको लकडाउनको समयमा मद्दत नेपाल संस्थासँग समन्वय गरी जोखिममा रहेका विपन्न परिवारलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको बताईन् ।

इकाईले संस्था भिजिट गरेर पनि मनोपरामर्श सेवा दिने, उपचारका लागि अस्पतालमा रेफर सेवा दिने, आमा समुह तथा महिला संस्था लक्षित मनोपरामर्श तालिम दिनुका साथै हरेक वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय र सार्वजनिक स्थलहरुमा मनोपरामर्श सम्वन्धि प्रचार सामग्री वितरण गरिएको कुईकेलले बताईन् ।