आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदै,राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

गोकर्णेश्वर खबर१४ भाद्र २०७८, सोमबार १०:२८ मा प्रकाशित (२ साल अघि) २४५ पाठक संख्या

काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

राष्ट्रपति भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको राष्ट्रपतिको भनाइ छ ।

उनले कोभिड–१९ को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनसमेत सबैलाई आग्रह गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिंदै नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् ।