आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

शिवपुरी निकुञ्ज भित्र रहेको बस्तिका जनताको समस्या समाधान गर्न माग

गोकर्णेश्वर खबर१४ भाद्र २०७८, सोमबार ०८:११ मा प्रकाशित (२ साल अघि) १६१ पाठक संख्या

१४ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र पर्ने बस्तिहरुमा जाने सुविधा सम्पन्न सडक निर्माण गर्न र निकुञ्ज भित्रको बस्तिका स्थानीयलाई निर्वाध आबत जाबतको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोकर्णेश्वर नगर कमिटिले आग्रह गरेको छ ।

आईतबार नगर कमिटि अध्यक्ष मान बहादुर तामाङको नेतृत्वमा गएको डेलिगेसनले नगर प्रमुख सन्तोष चालिसेलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो । ज्ञापनपत्र नगर इन्चार्ज टिआर नेपालले नगर प्रमुख चालिसेलाई हस्तान्तरण गरेका थिए ।

विज्ञप्तिमा निकुञ्जको चेक पोष्ट र अव्यवस्थित रुपमा रहेको सडकका कारण निकुञ्ज भित्रका बस्ति चिलाउने, ओख्रेनी, मुलखर्कका ५ हजार बासिन्दाहरु प्रभावित भएको उल्लेख गरिएको छ । स्थानीय जनता सहितको डेलिगेसनले गोकर्णेश्वर नगरपालिकाले समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ ।

स्थानीय सरोकारवाला र नागरिकहरुको ऐक्यबद्धता सहितको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिकाको समेत ऐक्यबद्धता माग गर्दै सो ज्ञापन पत्र प्रधानमन्त्रीलाई समेत बुझाउने कार्यक्रम रहेको नगर इन्चार्ज टि.आर.नेपालले बताए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चालिसेले निकुञ्जभित्रका बस्तिका जनताहरुलाई परेको समस्या समाधान गर्न नगरपालिकाले प्रयास गरिरहेकोमा जोड दिंदै नगरपालिका नयाँ सरकारमा रक्षा मन्त्रीको नियुक्ती पछि सरोकारवालालाई साथ लिएर तीनै तहका सरोकारवाला निकायहरुसँग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले स्थानीय जनता र राजनीतिक दलको अग्रसरताले समस्या समाधान गर्ने नगरपालिकाको प्रयासमा सहयोग पुग्ने बताउँदै छिटो भन्दा छिटो समस्याको समाधान गरी स्थानीय जनतालाई व्यवस्थित सडकबाट बस्तिमा आवत जावत गर्न सजिलो हुने व्यवस्था मिलाउन नगरपालिकाले अहिलेसम्म खेल्दै आएको भूमिका बुझिदिन समेत आग्रह गरे ।