आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कमेडी च्याम्पियनको शेटमै किन रोए विक्की ?

गोकर्णेश्वर खबर१४ भाद्र २०७८, सोमबार ००:१६ मा प्रकाशित (२ साल अघि) १२३ पाठक संख्या

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दावेदार मानिएका प्रतियोगी मध्येका एक हुन् विक्की अग्रवाल । विक्की शोको हरेक एपिसोडमा फरक–फरक प्रस्तुति दिँदै दर्शक र निर्णायक रिझाएर उत्कृष्ट ४ मा पुग्न सफल भएका थिए ।

शनिबार साँझको नयाँ एपिसोडमा पनि उनले फरक दिने कोसिस गरे । जसका लागि उनले रोजेका थिए ‘माइम एक्ट’ । ‘माइम एक्ट’ मा उनले मानिस निदाएको बेला मन कसरी सक्रिय रहन्छ ? भन्ने प्रस्तुति मोनोलकको सहारमा प्रस्तुत गरेका थिए । उनले यो प्रस्तुतिबाट पनि आफ्नो यस अगाडिको प्रस्तुतिमा झै दर्शक हाँस्ने अपेक्षा गरेका थिए । तर हाँसो र तालीको गडगडाहाट रहँदै आएको शोमा यो पटक भने उनको प्रस्तुतिमा सन्नाटा छायो ।

विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति राखेका थिए । अपसोच, विक्कीको राखेको उक्त प्रस्तुति न निर्णायकले बुझे, न त्यहाँ उपस्थित दर्शकले । सोही कारण उनको प्रस्तुतिमा दर्शक तथा निर्णायकले पहिले झै मनोरञ्जनात्मक फिल गरेनन् । सोही कारण पनि विक्की निकै भावुक देखिन्थे । उनको आँखा आँसुले भरिएको थियो ।

आफ्नो प्रस्तुति निर्णायकले राम्रोसँग महसुस नगरेको अनुभव गरेका विक्कीले कार्यक्रममा भने–‘मलाई थाहा छ, यो प्रस्तुतिले फाइनल नपुर्याउन सक्छ ।’ विक्कीको प्रस्तुतिमा कुनै चाख नदेखाएका तीन निर्णायक प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रस्तुतिको केही तारिफ त गरे । तर उनीहरुको तारिफ गर्ने शैलीले सजिलै अनुमान गर्न सकिन्थ्यो । प्रस्तुति उनीहरुले राम्रो रुपमा बुझ्न सकेनन् ।

निर्णायक सन्तोष पन्तले विक्कीको प्रस्तुति नबुझेको खुलेआम बताए । उनले भने ‘नेपाली समाज र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ ।’ पन्तले विक्कीलाई आफ्नै टेस्ट दिन समेत सुझाएका थिए । शोमा अतिथिका रुपमा पुगेको कलाकार किरण केसीले भने विक्कीले फरक टेष्ट दिएको प्रशंसा गरे । उनले भने– ‘सोमा सबै प्रस्तुतिले हँसाउँछ भन्ने छैन । तपाईको प्रस्तुति उत्कृष्ट थियो । खुसी लाग्यो ।’

जजको कमेन्टपछि विक्की रुँदै बाहिरिएका थिए । ब्याक स्टेजमा पनि उनी रोएको देख्न सकिन्थ्यो ।