आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव,कोशी ब्यारेजका ३५ ढोका खोलिए

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार १७:०६ मा प्रकाशित (२ साल अघि) २०६ पाठक संख्या

काठमाडौं । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ।

केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो।
कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ।

नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

साउन ३२ गते कोसीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो।

पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ।

यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ।

नदीको बहाव बढेसँगै प्रजिअ सहितको टोली कोसी क्षेत्रको निरीक्षणमा निस्केको छ।