आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काबुल एयरपोर्ट नजिकै शक्तिशाली बम विस्फोट,अमेरिकी सैनिकसहित १३ को मृत्यु

गोकर्णेश्वर खबर१० भाद्र २०७८, बिहीबार २२:१५ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बिहीबार अपरान्ह भएको बम आक्रमणमा कम्तीमा १३ जना मारिएका छन्।
दुई ठूला विस्फोटका घटनामा परेर चारजना अमेरिकी सैनिकसहित १३ को मृत्यु भएको हो।

हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलसँगै शक्तिशाली विस्फोट भएको हो। बेलायती रक्षा मन्त्रालयले काबुलमा दुई शक्तिशाली विस्फोटको पुष्टि गरेको छ।

फक्स न्युजका अनुसार यो बम हमला आतंकवादी संगठन आईएसआईएसले गरेको हो।

रूसी सञ्चारमाध्यम स्पुतनिकको रिपोर्ट अनुसार अहिलेसम्म १३ जना मानिस मारिएको पुष्टि भएको छ। फक्स न्युजले विस्फोटमा ४ अमेरिकी सैनिक पनि मारिएको जनाएको छ।

समाचार अनुसार एयरपोर्ट नजिकै ब्यारन होटलसँगै विस्फोट भएको हो। सुरक्षाका काबुल एयरपोर्टबाट हुने हवाई उडान तत्काललाई बन्द गरिएको छ।

विमानस्थलका सबै जहाजलाई नेटोको सैनिक टोलीले आफ्नो सुरक्षा घेरामा लिएको छ।

सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमलाबारे जानकारी पुगेको छ। अमेरिकाले अहिलेसम्म आफ्ना तीन सैनिक घाइते भएको मात्रै पुष्टि गरेको छ।

विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलिरहेको छ। एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन्। पेन्टागनले पनि आतंककारी हमलाको पुष्टि गरेको छ।

यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो। अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो। तर ह्वाइट हाउसले ३१ अगस्तपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो।

काबुल एयरपोर्टमा आतंकको माहोल छाएको छ। यसैबीच अमेरिका, अस्ट्रेलिया र ब्रिटेनले काबुल एयरपोर्टमा आतंकवादी हमलाको ठूलो खतरा रहेको भन्दै त्यस आसपास नजान भनेको छ।

काबुलस्थित अमेरिकी दूतावासले अमेरिकी काबुल एयरपोर्ट नजिकै रहेका आफ्ना नागरिकलाई हट्न भनेको छ। यसअघि बेलायतले काबुल एयरपोर्टमा आईएसआईएसले आतंकवादी हमला गर्न सक्ने बताएको थियो।