आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

महेन्द्रपुल क्षेत्रमा झण्डै ५ फिट गहिरो गरी सडक भासियो

गोकर्णेश्वर खबर७ भाद्र २०७८, सोमबार १३:३४ मा प्रकाशित (२ साल अघि) २५० पाठक संख्या

पोखरा । पोखराको मुख्य शहरी क्षेत्रमा पर्ने महेन्द्रपुलको सडक भासिएको छ। पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक खण्ड भासिएपछि आवागमनमा असुविधा भएको छ भने स्थानीय त्रसित बनेका छन्।

महेन्द्रपुल क्षेत्रमा झण्डै ५ फिट गहिरो गरी १० मिटरभन्दा बढी सडकखण्ड भासिएको हो।

आइतबार साँझदेखि परेको अविरल वर्षासँगै राति ९ः३० बजेतिर सडक भासिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बताए । कोइरालाका अनुसार पोखरा–३, नदीपुरदेखिको सडकमै बाढी बगेपछि सडक भासिएको हो । भासिएको ठाउँमा राति नै ढुंगा–बालुवा ल्याएर पुर्न सुरु गरिए पनि खतरा टरेको छैन।

‘सडकमा भल बगिरहेको छ, पछिल्लो समय पोखरामा ढलले पानी थाम्दैन, सडकमै बग्छ। पुरानो साँघुको मुखहुँदै सेती नदीतर्फ जानुपर्ने पानी सोझै महेन्द्रपुलको सडकमा बगेपछि जमिन भासिएको हो’, स्थानीय रमेश मानन्धरले भने,‘ यस्तै अवस्था रहे हाम्रा घर पनि असुरक्षित हुन्छन्।’

इञ्जिनियर किसानसिंह गुरुङका अनुसार पोखराको भू–बनौट पानी सोस्ने खालको भएपनि कमजोर किसिमको छ। सेती नदी वारीको नदीपुर–महेन्द्रपुल क्षेत्रमा यसअघि पनि जमिन भासिन्थ्यो । तर, त्यो बेला बस्ती घना भएको थिएन। बस्ती घना नहुँदा जमिनले पानी सोस्थ्यो । अहिले त्यस्तो छैन। बस्ती विकास भएसँगै जमिन कम हुँदै गएको छ।

परिणामस्वरुप हिजो बनाइएका ढलहरु साना भएका छन् । सहायक बाटाहरु ढलान गरिएका छन् भने त्यहाँको पानी सोझै मुलबाटोतिर आउने अवस्था सिर्जना भएको छ।