आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पप स्टार अर्यानाले छोडिन् देश

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार ०५:५९ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

अफगानिस्तान । अफगानिस्तानमा भएको तालिबानको कब्जाका कारण अधिकांश मानिसहरु धमाधम देश छोडिरहेका छन् । यो सूचीमा यहाँकी पपस्टार अर्याना सइद पनि छिन् । उनी काबुलबाट अमेरिका पुगेकी छन् ।

‘अफगान द भ्वाइस’की निर्णायक समेत रहेकी अर्याना युएस कार्गो जेटमार्फत अमेरिका पुगेकी हुन् । ‘कहिल्यै नभुल्ने त्यो रात पछि म ठिक छु । जिउँदो छु । म दोहा, कतार पुगेकी छु । म चाँडै नै इस्तानबुल फर्किनेमा पर्खाइमा छु’, उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै लेखेकी छन् । तस्वीरमा उनले मास्क लगाएकी छन् ।

अर्याना अफगान सेनाको कट्टर समर्थक हुन् । तालिबानले कब्जामा लिनु अघि उनले अफगान फौजलाई समर्थन गर्दै आइरहेकी छन् । उनले निर्माता हासिब सइदसँग विवाह गरेकी छन् ।

अफगानिस्तानमा कैयौं वर्षको राजनीतिक परिवर्तनका कारण फिल्मको विकासमा निकै कमी आएको छ । लामो समयको अन्तरालपछि अफगान फिल्मले सन् २००१ मा फिल्म जगतमा पाइला राखेको थियो । पछिल्लो समयमा अफगानिस्तानमा कैयौं फिल्म बनेका थिए ।

सन् २००३ मा बनेको अफगानी फिल्म ‘ओसामा’ले गोल्डन ग्लोब अवार्ड जितेको थियो । त्यस्तै सन् २०१२ मा बनेको ‘बुजकाशी ब्वाइज’ले ओस्कारमा मनोनयनको अवसर पाएको थियो ।