आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

अफगानिस्तानमा रहेका २८८ नेपालीको उद्धार

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार १०:०० मा प्रकाशित (२ साल अघि) ३३३ पाठक संख्या

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ ।

मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा बुधबार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गराएको र दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई ं९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत् सम्पर्क गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै भाइबर,ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु ं९७७ ९७४९३२६४५८, ं९७७ ९७४९३२६४५९, ं९७७ ९८४१७९२७७४ र ं९१ ८९२९६०१९२५ मा विवरण टिपाउन पनि सकिने छ ।

अफगानिस्तानमै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई आफैं वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np मा विवरण दर्ता गराउन पनि सरकारले आग्रह गरेको छ ।