आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गायक टुहुरेलाई ‘स्ट्रोक,सीसीयूमा उपचार हुँदै

गोकर्णेश्वर खबर२ भाद्र २०७८, बुधबार ०९:३७ मा प्रकाशित (२ साल अघि) ५१६ पाठक संख्या

काठमाडौं । प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना भएका छन् । मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले उनलाई ‘स्ट्रोक’ भएको बताएको उनकी छोरी निर्भीकाले जानकारी दिइन् । ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचार भइरहेको छ ।

विसं २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

उनको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो ।

सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।