आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी पेस,४२ सांसदको हस्ताक्षर

गोकर्णेश्वर खबर२८ श्रावण २०७८, बिहीबार १२:०३ मा प्रकाशित (२ साल अघि) १८५ पाठक संख्या

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेस गरेको छ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका थिए।

बहुमत ४२ सांसदको हस्ताक्षर बुझाइएको गठबन्धनका नेताहरूले बताएका छन्।

केसीका पक्षमा माओवादी केन्द्रका १९, कांग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन्।

कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना मुख्यमन्त्री बन्ने सहमति भएको छ। जसअनुसार आगामी फागुन १ गतेसम्म माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने छन् भने फागुन २ गतेदेखि बाँकी कार्यकाल कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति दुई दलबीच भएको छ।