आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोनाको तेस्रो लहरः सरकारी तयारी के छ ?

गोकर्णेश्वर खबर२२ श्रावण २०७८, शुक्रबार ०७:१४ मा प्रकाशित (२ साल अघि) ३४३ पाठक संख्या

काठमाडौं । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड संख्या तीन हजार पुर्याईएको छ । यस्तै, ६ सय ३० आइसीयु बेड थप गर्ने प्रकृयामा स्वास्थ्य मन्त्रालय रहेको छ । हाल आइसीयु बेड संख्या दुइ हजार ६ सय रहेको छ ।

यस्तै, देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पुर्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए ।

सरकारी अस्पतालहरुमा हाइ डीपेन्डेन्सी युनिट (एचडीयु) बेड संख्या दुइ हजार ७५ र नीजिमा सात सय ७८ थप गरी दुइ हजार आठ सय ५३ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले एक हजार चार सय हाइडीपेन्डेन्सी युनिट वेड थप गर्ने प्रकृयामा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार बालबालीकाहरुका लागि एक सय ८० भेन्टिलेटरसहितको दुइ सय ७५ आइसीयु बेड थप्ने कार्य भइरहेको छ ।

कोभिड १९ लाई मध्येनजर गर्दै अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिण्डर थप भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।पौडेलले भने, ‘पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप तीन हजार पाँच सय आउने क्रममा रहेका छन् ।’

विगतमा प्रति हप्ता १५ मेट्रिटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल एक सय २० मेट्रिकटन आपूर्ति भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै जिल्ला र १९ वटा ठुला अस्पतालहरुमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोतको सुनिश्चितता गरिएको भन्दै भदौभित्र सम्पन्न गर्ने योजना रहेको छ ।

देशभर एक हजार आठ सय स्थानमा खुला सिमा रहेका छन् । उत्तरतर्फ चीनको रसुवा गढी र तातोपानी नाका, दक्षिणमा भारतसंग जोडिएका पशुपति नगर इलामदेखि दार्चुलाको पुलघाटसम्म गरी १३ वटा तोकिएका प्रवेश विन्दुमा हेल्थ डेस्क स्थापना गरीएका छन् ।

जसअन्तर्गत् गत हप्तासम्म चार लाख २२ हजार आठ सय ५४ जनामा स्क्रीनिङ गर्दा ७७ हजार पाँच सय ४६ जनाको कोरोना परिक्षण गरीएको थियो । सो क्रममा चार हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो । सीमा नाकामा परिक्षण गर्दा औषतमा पाँच प्रतिशतमा संक्रमणदर रहेको छ । अधिकांश सिमानाकामा हेल्थ डेस्क स्थापना गरीएको र केहि स्थानमा हेल्थ डेस्क बन्ने क्रममा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय निती योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीले कोरोना संक्रमण रोकथामका लागि अन्तरमन्त्रालय, संघ, प्रदेश र स्थानिय तहबिच समन्वय जरुरी रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा।दीपेन्द्ररमण सिंहले कोरोना विरुद्धको खोप अभियानलाई द्रुत गतिमा अघि बढाइने बताए ।

स्वास्थ्य मन्त्रालयले साउनमा थप ५३ हजार तीन सय सात जना, भदौमा ४५ हजार सात सय २६ जना, असोजमा ३८ हजार पाँच सय ९७, कार्तीकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार एक सय ८३ जनामा संक्रमण हुने प्रक्षेपण गरेको छ । कुल थपिएका संक्रमित मध्ये ८० प्रतिशत अर्थात् एक लाख ५५ हजार ८५ जनामा सामान्य, १५ प्रतिशत अर्थात् २९ हजार ७८ जनामा जटील समस्या र पाँच प्रतिशत अर्थात् ९ हजार ६ सय ९३ जनामा गम्भिर लक्षण देखिने प्रक्षपण गरेको हो ।

यस्तै, सरकारले आगामी साउन २५ देखि ३२ सम्म खोप सप्ताह र साउन २३ देखि २९ सम्म नेपाल मास्क अभियान सञ्चालन गर्दैैछ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप सप्ताहमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका र दोस्रो मात्रा लगाउन बाँकि १३ लाख ६५ हजारलाई दोस्रो मात्रा खोप लगाइनेछ । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा एस्ट्राजेनीका आगामी शनिवार र आइतवार नेपाल आइपुग्दैछ ।

सो खोप दोस्रो मात्राका रुपमा जेष्ठ नागरिकलाई दिन सकिनेभनि स्वास्थ्य मन्त्रालयले यस अघि निर्णय गरीसकेको छ । यस्तै, शनीबारनै भुटान सरकारले पनि नेपाललाई तीन लाख मात्रा एस्ट्राजेनीका खोप उपलब्ध पठाउँदैछ । सरकारले संक्रमण रोकथाम अभियानलाई सार्थक दिन चैतभित्र खोप लगाउन योग्य आम नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।