आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

न्युयोर्कका गभर्नरद्धारा ११ महिलामाथि यौन दुर्व्यवहार

गोकर्णेश्वर खबर२० श्रावण २०७८, बुधबार ०९:५५ मा प्रकाशित (२ साल अघि) १६८ पाठक संख्या

एजेन्सी । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले ११ जना महिलामाथि यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएको छ।

डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले कार्यस्थलमा दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएको थियो।

मंगलबार राज्यकी महान्यायाधीवक्ताले लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेकी थिइन्। उक्त रिपोर्टमा ६३ वर्षीय कुमोले गलत नियतले महिलाहरूलाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ।

उक्त रिपोर्ट प्रकाशित भएपछि कुनै बेलाका पार्टीका स्टार मानिएका कुमोले राजीनामा दिनु पर्ने माग डेमोक्र्याटहरूले नै गरेका छन्।

ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति जो बाइडेनले कुमोले राजीनामा दिनु पर्ने बताएका छन्। राज्यको संसदले उनलाई महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बाइडेनको भनाइ छ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले पनि विज्ञप्ति जारी गर्दै कुमोले पद छोड्नु पर्ने बताएकी छन्।

कुमोले भने आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रूपमा बुझेकाले उक्त रिपोर्ट अन्यायपूर्ण भएको बताएका छन्। आफूले गल्ती नगरेकाले राजीनामा नदिने उनको जिकिर छ।

कुमो सन् २०११ मा न्युयोर्कको गभर्नर बनेका थिए। त्यसअघि उनी सोही राज्यका महान्यायाधीवक्ता थिए।