आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

फेरि बढ्यो कोरोना संक्रमण बढ्यो, भरिए उपत्यकाका अस्पताल

गोकर्णेश्वर खबर१९ श्रावण २०७८, मंगलवार १७:३० मा प्रकाशित (२ साल अघि) २५५ पाठक संख्या
  • शरद शर्मा

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

दैनिक संक्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शय्या भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा.प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिएको जानकारी दिए ।

उनका अनुसार १० दिन यतादेखि बिरामीको संख्या बढ्दै गएपछि शय्या भरिएका हुन् । ‘संक्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० शय्या भरिन्छन् होला’, उनले भने, ‘अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।’

उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १ सय ३० जना बिरामी रहेका छन् । अहिले संक्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट सुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा संक्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । संक्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमले विगत दुई हप्तादेखि संक्रमितको संख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए।

उनका अनुसार अस्पतालमा १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन् । संक्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।

उनले संक्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।

शुक्रराज अस्पतालका निर्देशक डा.अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ शय्यामा रहेका छन् । यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा.आशिष श्रेष्ठका अनुसार कूल १ सय ५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ संक्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् ।

काठमाडौँ उपत्यकामा आठ हजार ८ सय ९५ सक्रिय संक्रमित रहेका छन् । देशभरि १ सय ५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६ सय ३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३ सय ११ आइसीयू र १ सय ३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन् ।

देशभरिमा ६ सय ९० जना आइसीयु र १ सय ७५ भेन्टिलेटर, तीन हजार २ सय २४ जना संस्थागत आइसोलेशन र २८ हजार ४ सय ५ जना होम आइसोलेसनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताए। उनले अहिले १ सय २२ जना संक्रमित बिरामी उपचाररत रहेको जानकारी दिए । तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।

उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताए । अस्पतालमा १ सय ४५ शय्या कोभिड–१९ का संक्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भीडभाड बढेकाले संक्रमितसँगै बिरामी पनि बढेको बताए । ‘अहिले केही दिनयता समाजमा संक्रमण बढेका पाइएको छ’, उनले भने, ‘संक्रमितहरु दिनप्रतिदिन बढेका छन् ।’ उनले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे । रासस

फेरि बढ्यो कोरोना संक्रमण बढ्यो, भरिए उपत्यकाका अस्पताल