आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कंगना र प्रियंका चोपडाको मित्रतामा कसरी आयो फाटो ?

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १९:२० मा प्रकाशित (२ साल अघि) २६४ पाठक संख्या

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावत र प्रियंका चोपडा कुनै बेला खुब मिल्थे। सन् २००८ मा रिलिज भएको फिल्म ‘फेसन’मा उनीहरुले सँगै अभिनय गरेका थिए। फिल्ममा सँगै काम गरेपछि नै यी दुईको मित्रता सुमधुर भएको थियो। तर, केही समययता भने उनीहरुको मित्रतामा फाटो आएको छ।

पछिल्ला महिना कंगनाले प्रियंकालाई उनको राजनीतिक विचारमाथि सार्वजनिक रुपमा आक्रमण गरेपछि उनीहरुको सम्बन्ध बिग्रिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

कंगनाले प्रियंकालाई सधैं आफ्नो नजिकको साथी मान्ने गर्थिन्। एकपटक उनले आफ्नोबारे पत्रकारलाई भन्दा प्रियंकालाई धेरै थाहा भएको समेत भनेकी थिइन्। ‘प्रियंका मेरी साथी हुन् र उनलाई मेरो बारेमा धेरै कुरा थाहा छ,’ सन् २०१५ मा भएको एक अन्तर्वार्ताको क्रममा कंगनाले भनेकी थिइन्, ‘यो फिल्म क्षेत्रमा राम्रो सम्बन्ध बनाउन एकअर्काको हेरचाह र माया गर्नुपर्छ। प्रियंकाले मलाई यसरी काम गर्न सहज वातावरण बनाइदिएको थिइन्।

कंगनाका अनुसार उनी १९ वर्ष हुँदा प्रियंका बलिउडको ठूलो स्टारको रुपमा चनिने गर्थिन्। उनी आफैं प्रियंकाले अभिनय गरेको फिल्म हेर्दै हुर्किएकी हुन्। ‘पहिलो पटक प्रियंकासँग काम गर्दा उनले मलाई सानो उमेरको जस्तो व्यवहार गरिनन्, बरु साथीजस्तै भइन्,’ उनले भनेकी थिइन्, ‘उनी मसँग खाना बाँडेर खान्थिन् र आफ्नो लुगा राम्रो देखिएको छ वा छैन भनेर सोध्ने गर्थिन्। उनी साँच्चिकै ठूलो स्टार हुन् र उनीसँग काम गर्न पाउँदा मलाई निकै खुसी लागेको छ।’

कंगना र प्रियंकाको यो सम्बन्ध धेरै लामो समय टिक्न सकेन। सन् २०१८ मा प्रियंकाले निक जोनससँगको इन्गेजमेन्टबारे कंगनालाई खबर नगरेकोमा उनी निराश भएकी थिइन्। सन् २०२० को दिल्लीमा भएको किसान आन्दोलनले उनीहरुबीचको सम्बन्ध झनै बिगार्यो। जब प्रियंकाले सामाजिक सञ्जालमा प्रदर्शनकारी किसानहरुको पक्ष लिएर बोलिन्, कंगनाले उनी र अभिनेता दिलजीत दोसांझमाथि भारतीय जनतालाई भ्रम फैलाएको आरोप लगाएकी थिइन्।

उनले प्रियंकालाई ‘धर्मनिरपेक्ष कुकुर’ समेत भन्न भ्याएकी थिइन्। यसमा प्रियंकाले भने कुनै प्रतिक्रिया दिएकी थिइनन्।

हलिउड फिल्ममा काम गर्न सुरु गरेदेखि प्रियंका अहिले हिन्दी फिल्ममा कम देखिन्छिन्। पछिल्लोपटक उनी नेटफिल्क्स सिरिज ‘वी क्यान बी हिरोज’ र ‘ह्वाइट टाइगर’ फिल्ममा देखिएकी थिइन्। कंगना भने सन् २०२० मा रिलिज भएको फिल्म ‘पंगा’मा देखिएकी थिइन्। हाल उनी आफ्नो नयाँ फिल्मको सुटिङको लागि हंगरी पुगेकी छिन्।