आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भारतीय एसएसबीले तुइन काट्दा नेपाली युवा बेपत्ता भएको घटनाको छानबिन गर्न कांग्रेसको माग

गोकर्णेश्वर खबर१५ श्रावण २०७८, शुक्रबार १९:०३ मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

काठमाडौं । महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर नेपाली युवा बेपत्ता भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न सत्तारुढ नेपाली कांग्रेसले माग गरेको छ।

नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन्। दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा उनी नदीमा वेपत्ता भएका हुन्।

सो घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन,दिलाउन माग गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको’ बताएका छन्।