आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैन,एक ठाउँमा पनि चुक्न पाउने छैन : गगन थापा

गोकर्णेश्वर खबर१५ श्रावण २०७८, शुक्रबार १८:३५ मा प्रकाशित (२ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ ।

बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो ।’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको आरोप समेत लगाए । ‘संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्छ,’ उनले भने ।

नेता थापाले वर्तमान सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पनि पार्टी नेतृत्वलाई सुझाव दिए । ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ उनले अगाडि भने ।