आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सत्ता गठबन्धनको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी

गोकर्णेश्वर खबर१३ श्रावण २०७८, बुधबार १०:२७ मा प्रकाशित (२ साल अघि) २५६ पाठक संख्या

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ । नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेको बालुवाटार स्रोतले बतायो । यद्यपि एमाले सरकारमा जाने,नजाने विषय अझै एकीन हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

अब जनता समाजवादी पार्टी (जसपा)लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताए । ती नेताले भने, ‘जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेकाले अब मन्त्रिपरिषद विस्तार हुन्छ । त्यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।’

निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।