आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

धनुषामा कुटपिट गरी २५ वर्षीया युवकको हत्या

गोकर्णेश्वर खबर१३ श्रावण २०७८, बुधबार १०:२४ मा प्रकाशित (२ साल अघि) २२० पाठक संख्या

जनकपुरधाम । धनुषा एक युवकको हत्या भएको छ। शहिदनगर नगरपालिका ३ गोठकुहाका २५ वर्षीय गोबिन्द यादवको कुटपिट गरी हत्या भएको हो।

यादव मंगलबार बिहान ७ बजे घर नजिकै सडक छेउको कर्कलो बारीमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनको उपचारको क्रममा दिउँसो विराटनगरमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

टाउको र मुखमा गम्भीर चोट लागेको अवस्थामा पेला परेका गोबिन्दलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लागिएको थियो। जनकपुरमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि विराटनगरस्थित न्युरो हस्पिटलमा रेफर गरिएको थियो। उपचारको क्रममा गोबिन्दको मंगलबार दिउँसो मृत्यु भएको डिएसपी मिश्रले जानकारी दिए।

गोबिन्दको निर्घात कुटपिट गरी हत्या गरेको दाबी उनका परिवारका सदस्यले गरेका छन्। कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले उनका दुईजना साथीलाई पक्राउ गरेको छ। ‘गोबिन्दको हत्या आशंकामा उनका दुईजना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धन थालेका छौं,’ डिएसपी मिश्रले भने।

स्थानीय बासिन्दाले अज्ञात समूहले सोमबार राति नै मडरासन्न हुनेगरी कुटपिट गरी झाडीमा फालेर भागेको हुन सक्ने बताएका छन्। आफन्तले गोबिन्दको हत्या भएको दावी गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।