आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर नगरक्षेत्रमा रहेका गँलैचा कारखानाका बालबालिकाहरुलाई खाद्यान्न वितरण

गोकर्णेश्वर खबर१० श्रावण २०७८, आईतवार २०:४१ मा प्रकाशित (२ साल अघि) ४२७ पाठक संख्या

काठमाडौं । बाल विकास समाज र विश्व शिक्षाको सहयोग तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ७ मा रहेका गँलैचा कारखानाका ५१ जना बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

प्रतिबालबालिकाका लागि खाद्यान्न सामग्री ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिनी र ४ वटा हातधुने साबुन व्यवस्था गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख शान्ती नेपाल तथा बाल विकास समाजका अध्यक्ष सुवास गौतमको उपस्थितिमा उक्त सामग्री छिमेकी पाटी प्यालेसमा वितरण गरिएको थियो । कोभिड १९ को विषम परिस्थितिमा सक्रिय परियोजना अन्तर्गत बालबालिकाहरुलाई खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । बाल विकास समाजले बालश्रम न्यूनिकरणका लागि गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ ।

 

खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ती नेपालले बालश्रम प्रयोग गरेको पाइएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने कुरा बताउनु भएको थियो । कारखानामा बालबालिकाहरुमाथि हुने विभिन्न हिंसाजन्य घटना भएमा कुनैपनि किसिमको दुव्र्यवहार भएमा वडा कार्यालय तथा नगरपालिकामा आएर उजुरी गर्न सकिने कुरा बताउदै गाकर्णेश्वर नगरपालिका बालश्रम निर्मुल पार्नका लागि कानुनी रुपमै लागि परिरहेको उल्लेख गर्नु भयो । यस्तो कोभिडको विषम अवस्थामा संस्थाले बालबालिकाहरुलाई खाद्यान्न उपलब्ध गराएकोप्रति बाल विकास समाज र विश्व शिक्षालाई धन्यवादसमेत दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुवास गौतमले बालश्रम अन्त्यका लागि संस्था सधै लागिरहेको र सोही अनुसार स्थानीय सरकारसँग सँगसँगै रहेर काम गरिरहेको बताउनु भयो ।

संस्थाका कर्मचारी गोविन्द विकले खाद्यान्न वितरण कार्यक्रमको बारेमा प्रष्ट पार्दै आगामी दिनमा पनि बालबालिकाहरुलाई यस किसिमको सहयोग गर्ने योजना रहेको बताए ।

कार्यक्रमको समन्वय स्थानीय समाजसेवी सन्जय आचार्यले गरेका थिए भने कार्यक्रममा संस्थाका कर्मचारी मनिका भुजेल, आस्मा बस्नेत तथा समुदायमा आधारित संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी, समाजसेवी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।