आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उपत्यकामा १० दिन निषेधाज्ञा थप

गोकर्णेश्वर खबर१० श्रावण २०७८, आईतवार १९:११ मा प्रकाशित (२ साल अघि) १०८३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको बताए ।

भोलिदेखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन ।

प्रशासनले खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने जनाएको छ । शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।