आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

मलेशियाबाट नेपाल एयरलाइन्सको जहाजले ल्यायो एकैपटक २४ नेपालीको शव

गोकर्णेश्वर खबर९ श्रावण २०७८, शनिबार १९:५३ मा प्रकाशित (२ साल अघि) ३८९ पाठक संख्या

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ ।

निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका नेपाली श्रमिकसहित एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

निगमले मलेशियामा मृत्यु नेपालीको शव नेपाल ल्याइएको जानकारी दिँदै फेसबुक पेजमा लेखेको छ ‘विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइको शव देशलाई त तथ्यांकमा मात्र सीमित हुने होला तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ । उनका सपना टुटेका छन् ।’

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगमको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ ।

निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ ।