आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेस पदाधिकारी बैठक चल्दै, छलफल महाधिवेशनमा केन्द्रित

गोकर्णेश्वर खबर९ श्रावण २०७८, शनिबार ११:०६ मा प्रकाशित (२ साल अघि) २५२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज विहान केही बेरअघि बैठक सुरु भएको हो ।

पार्टीको १४औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि कांग्रेस शीर्षस्थ नेताहरुको बैठक जारी छ ।

आगामी भदौ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा जुटेका छन् । कांग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । तर सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

अब कांग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्नेगरी सार्ने तयारी गरिएको छ । तर मिति भने तय भइसकेको छैन ।

१६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने वा अधिवेशनको प्रक्रिया छोट्याउने भन्ने विषयमा छलफल चलिरहेको छ । शुक्रबारको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भदौ १६ मा कुनै पनि हालतमा महाधिवेशन गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका थिए ।