आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

समाजमा आतंक र युवालाई अपराधीकरण गर्ने कार्यमा युथ फोर्स र अखिल फोर्स उद्यत : नेता भट्टराई

गोकर्णेश्वर खबर९ श्रावण २०७८, शनिबार १०:०४ मा प्रकाशित (२ साल अघि) २५८ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन् ।

पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’ भट्टराईले प्रश्न गरेका छन् ।

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ ।

नेता भट्टराईले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।

उनले लेखेका छन् ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलनर क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक, बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थस् यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।