आज: २८ बैशाख २०८२, आईतवार | Sun, 11, May, 2025

नेपाल पक्षसँग ओलीको आग्रह: अब विवाद छाडौँ,पार्टी एकताको कुरा गरौँ,के ओली कमजोर भएकै हुन त ?

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार १७:२७ मा प्रकाशित (३ साल अघि) ५०८ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वान गरेका छन्। ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन्। हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ, उनले अगाडि भने, अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।

ओलीले नेपाल समूहलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरे। बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु। यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ, उनले भने, एम्नेष्टी इज ग्रान्टेड, एमालेलाई एक बनाएर जाऊँ। कम्युनिष्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको छ। अब यसलाई रोकेर अघि बढौँ।

उनले आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गरे। गत वर्ष मलाई साधारण सदस्यबाट पनि निकाले, २०२९ सालमा पनि निकालेका थिए, उनले भने, अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ।