आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

खोप केन्द्रको अनुगमनमा निस्किए प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार ११:१६ मा प्रकाशित (२ साल अघि) ४५९ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा उपत्यकाका कोरोना खोप केन्द्रको अनुगमनमा निस्किएका छन्। खोप अभियानका क्रममा तोकिएभन्दा अन्य उमेरका नागरिकलाई खोप दिइएको गुनासो आइरहेका बेला प्रधानमन्त्री देउवा आफैं अनुगमनमा निस्किएका हुन्।

सोमबार बिहान १० बजेपछि अनुगमनमा निस्किएको प्रधानमन्त्री देउवाको टोलीले उपत्यकाका केही सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणको अवस्थाबारे जानकारी लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस क्रममा जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालस्थित खोप केन्द्र अनुगमन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो।’

उनले त्यहाँ खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन व्यवस्थापन पक्षलाई निर्देशन पनि दिएका छन्।

मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतका खोप केन्द्र निरीक्षण गर्नेछन्।

आजैदेखि सरकारले काठमाडौं उपत्यकालगायत देशभर अमेरिकी सरकारले सहयोग गरेको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन कम्पनीका खोप लगाउने अभियान सञ्चालन गरेको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा पनि प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता खोप आपूर्ति र वितरण नै भएको बताएका थिए।