आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रदेश–२ सरकारमा माओवादी केन्द्र पनि सहभागी,दुई मन्त्रीले लिए शपथ

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार १८:११ मा प्रकाशित (२ साल अघि) २८६ पाठक संख्या

जनकपुरधाम । प्रदेश नम्बर–२ मा नेकपा (माओवादी केन्द्र)बाट दुई प्रदेशसभा सदस्यले मन्त्री पदको शपथ लिएका छन् ।

शनिबार प्रदेश प्रमुख डा. राजेश झा अहिराजले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र मुख्यमन्त्री लालबाबु राउतले रूवी कर्णलाई राज्यमन्त्रीको शपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित सांसद हुन् । कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।

मन्त्री साहले कसैको नाम नलिई शपथ खाए भने राज्यमन्त्री कर्णले सहिदको नाममा शपथ लिइन् । मातृभाषामा शपथग्रहण गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिएका थिए ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीले राजीनामा दिएका थिए । आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका हुन् । शनिबारै मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गएको जेठ २६ गते नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइएको थियो । सोही दिन माओवादी केन्द्रलाई पनि सहभागी गराउने प्रयत्न गरिएको थियो । तर, मन्त्रालय बाँडफाँडमा कुरा मिलेको थिएन ।