आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमाले अध्यक्ष ओली भेट्न महन्थ ठाकुरको टोली बालकोटमा

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार ११:१३ मा प्रकाशित (२ साल अघि) ३२१ पाठक संख्या

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर टोलीसहित बालकोट पुगेका छन्।

अहिले भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता जारी छ।

छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्। ओली सत्ताच्युत भएपछि उनीहरूबीच शनिबार पहिलोपटक भेटवार्ता भइरहेको हो।

ओली नेतृत्वको सरकारमा जसपाको यो समूह जेठ २१ गते सहभागी भएको थियो। तर असार ८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिण्डल असंवैधानिक ठहर गरेपछि महिना दिन पनि नपुग्दै पदच्युत भएको थियो।

यसपछि सर्वोच्च अदालतले पुनः गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली नै सत्ताबाट बाहिरिएका हुन्।

देउवा सरकारलाई भने यादव पक्षले साथ दिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्टी विभाजन हुने अन्तिम चरणमा छ। जसपा विभाजनको फैसला गर्न साउन ३ गते निर्वाचन आयोगले गठन गरेको इजलास बस्दै छ।