आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

आज साउने संक्रान्ति पर्व मनाइँदै

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार ०९:०५ मा प्रकाशित (२ साल अघि) ६९४ पाठक संख्या

काठमाडौं । आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा। रामचन्द्र गौतम बताउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसलाई लुतो फाल्ने भनिन्छ ।

यसरी लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । तर यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणको जोखिमका कारण भिडभाड गर्न रोक लगाइएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशका सबै जिल्लामा लागू हुने गरी आज एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए ।

उनका अनुसार कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने संक्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिने निर्णय गरेको छ ।