आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

गोकर्णेश्वर खबर२९ असार २०७८, मंगलवार ०९:०७ मा प्रकाशित (२ साल अघि) ६३० पाठक संख्या

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको अवस्थाबारे छलफल गर्न आज स्थायी समितिको बैठक बोलाएको छ।

अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी हुने नेताहरूबारे पनि निर्णय गर्ने सम्भावना छ।

‘आज हाम्रो पार्टीबाट दुई जना मन्त्रीले सपथ लिने संभावना छ, को कसलाई सरकारमा पठाउनेबारे बैठकमा छलफल हुन्छ’, स्थायी कमिटीका एक सदस्यले भने, ‘तर मन्त्री छान्ने अन्तिम जिम्मा अध्यक्षलाई नै दिने संभावना छ।’

आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्।

सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई आज (मंगलबार) साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेको हो।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।