आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माओवादी केन्द्र वैध छ : निर्वाचन आयोग

गोकर्णेश्वर खबर२७ असार २०७८, आईतवार १८:०६ मा प्रकाशित (२ साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘‍‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको निर्णयमा भनिएको छ ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो ।

आयोगले माओवादी केन्द्र संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाउन नमिल्ने ठहर गरेको छ ।
निर्वाचन आयोगले माओवादी केन्द्र दल वैधानिक रहेको पुष्टि गर्न विभिन्न उदाहरणहरु दिएको छ । आयोगले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल गौरवशाली पार्टी र अन्य राजनीतिक दलहरु संयुक्त भई २०७३ साउन ३२ गते नेकपा माओवादी केन्द्र नामक दल दर्ता भएको देखिएको उल्लेख गरेको छ ।

त्यस्तै नेपालको संविधान जारी भएपछि आयोगले राजनीतिक दलहरुलाई दर्ता हुन सूचना प्रकाशन गरेपछि नेकपा माओवादी केन्द्रले २०७३ मंसिर ३० गते दल दर्ता गरेको र उसले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको उल्लेख गरेको छ ।

आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ २३ गते एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी नामक दल बनेको कारण पनि दिएको छ । नाम विवादले ती दलहरु अलग अलग हुने भनी सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको पनि आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले निवेदन दिएका थिए । आयोगले उनी अध्यक्ष भएको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता नभएको भन्दै उनले अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको बताएको छ ।

‘यसरी अन्य दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेश गर्ने निवेदक भविश्वर पराजुलीलाई सचेत गराई आयोगमा अभिलेखीकरण गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।