आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

बाढी पहिरोको क्षतिबारे बुझ्न प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

गोकर्णेश्वर खबर२६ असार २०७८, शनिबार ०७:५२ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीले क्षति पुर्याएको जिल्ला सिन्धुपाल्चोक जाँदैछन । सिन्धुपाल्चोकका मेलम्ची खानेपानी आयोजना लगायत विभिन्न बस्तीको प्रधानमन्त्री ओलीले आज निरीक्षण गर्न लागेका हुन ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार आज बिहान साढे १० बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नेछन ।

प्रधानमन्त्री ओलीले हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र बाढी पहिरो पीडितहरुसँग केहीबेर अन्तर्क्रिया गर्नेछन ।

त्यसपछि मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनेछन । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्थाबारे जानकारी गराउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बाढी पीडित र भौतिक क्षतिको अवस्था बुझेपछि प्रधानमन्त्रीले राहत र पुनर्निर्माणको प्याकेज घोषणा गर्ने तयारी छ ।

असार एक गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा ४ जनाको शव भेटिएको छ भने करिब २५ जना अझै बेपत्ता छन् ।