आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन,७६ मेगावाट विद्युत उत्पादन सुरु

गोकर्णेश्वर खबर२१ असार २०७८, सोमबार २२:०७ मा प्रकाशित (२ साल अघि) ६०७ पाठक संख्या

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । ४५६ मेगावाट कुल क्षमतामध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरबाट रिमोटको माध्यमबाट टर्बाइन घुमाएर विद्युत उत्पादनको उद्घाटन गरे । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्मित आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गरिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक खपतका लागि मात्रै नभई बाह्य निर्यातका लागि समेत यो आयोजनाले योगदान गर्न सक्ने बताए । स्वदेशी लगानीमा यो आयोजना बन्नु खुसीको कुरा भएको पनि उनले बताए ।

उर्जा क्षेत्रको आत्मविश्वासहित राष्ट्रिय आत्मविश्वास यो आयोजनाले बढाएको उनले बताए । “हामी हाम्रो बलबुतामा पनि थुप्रै विकासका काम गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ,” उनले भने ।

लोडसेडिङ अन्त्य आन्तरिक उत्पादनबाट मात्रै नभई आयात गरेर गरिएको भन्दै केही समयभित्रै पूर्ण क्षमतामा उत्पादन भएपछि दीर्घकालिन रूपमा लोडसेडिङ अन्त्य हुने उनले बताए । यो आयोजनाले शिक्षा, स्वास्थ्य, औद्योगिक एवम् ग्रिन इनर्जीको प्रयोग गर्ने सन्दर्भमा महत्वपूर्ण योगदान गर्ने उनले बताए ।

भूकम्प, कम्पनी छनौट, कोभिड जस्ता कारणले आयोजना निकै विलम्ब हुँदा आयोजनाको लागत बढ्नु राष्ट्रका लागि ठूलो हानी भएको पनि उनले बताए । “निर्माण अवधिको ब्याजको हिसाबले १४ अर्ब लाग्ने भनिएकोमा १८ अर्ब बढेर ३२ अर्ब पुग्यो । यो ठूलो हानी हो । लागतमा १७ अर्ब र ब्याजमा १८ अर्ब थपिनु ठूलो हानी हो । अलिकति विलम्ब हुँदा भएको घाटा हो,” उनले भने ।

उर्जा मन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पुँजीमा निर्मित यो आयोजनाले मुलुकको अर्थतन्त्रमा ठूलो उपलब्धी हासिल गराउने बताए । यो आयोजनाका कारण अब नेपालमा लोडसेडिङको पुनरावृत्ति नहुने उनले बताए । “दीगो रूपमा लोडसेडिङको अन्त्य यो आयोजनाले गरेको छ । यो आयोजनाले जीडीपीमा नै योगदान दिने छ,” उनले भने ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य यो आयोजनाले वार्षिक २ सय २८ करोड यूनिट विजुली उत्पादन गर्ने बताए । जलविद्युतको ११० वर्षको अवधिमा राष्ट्रिय गौरवको आयोजना रूपमा यो आयोजनाले सफलता हासिल गरेको उनले बताए । ६ वटा युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः उत्पादन हुने र ४५६ मेगावाट नै विद्युत भदौ मसान्तसम्म उत्पादन गरिसक्ने शाक्यले बताए ।

ढल्केवर सवस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

यो आयोजनाको विस्तृत सम्भाव्यत्ता अध्ययन नर्वे सरकारले गरेको थियो ।

लामाबगरमा बाँध रहेको यो आयोजनाको मुख्य सुरुङ ८ किलोमिटरको रहेको छ । सुरुमा यो आयोजनाको लागत ३५ अर्ब २९ करोड (ब्याज बाहेक) लाग्ने अनुमान गरिएकोमा बढेर ५२ अर्ब पुगेको छ । अमेरिकी डलरमा आएको वृद्धि, नाकाबन्दी, डिजाइन परिवर्तन, निर्माण अवधि लम्बिदा यसको १४ अर्ब लाग्ने भनिएकोमा ब्याजसमेत बढेर ३२ अर्ब पुग्ने अनुमान गरिएको छ । समग्रमा यो आयोजनाको लागत ८४ अर्ब बढी पुग्ने अनुमान प्राधिकरणले गरेको छ ।